ललितपुर । चिरिबाबु महर्जन लगातार दोस्रो कार्यकालका लागि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित बनेका छन् । नेपाली कांग्रेसका उनी गठबन्धनबाट उम्मेदवार बनेका थिए । महर्जन ४२ हजार ७२२ मतसहित विजयी भए । उनले नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा १८ हजार १६२ मत बढी ल्याए ।
ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाए । दोस्रो कार्यकालका लागि निर्वाचित मेयर चिरिबाबु महर्जनले यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा हरिकृष्ण ब्यञ्जनकारलाई ३ सय २६ मतले पराजित गरेका थिए । यो पटक भने भारी मतान्तरले महर्जन विजयी भएका छन् ।
मेयरका उम्मेदवार रहेका राप्रपाका अष्ट महर्जनले ५हजार ५५४ मात्रै मत पाए । ललितपुर महानगरको उपप्रमुखमा नेकपा एमालेकी मन्जली शाक्य निर्वाचित भइन् । उनले २५ हजार ८४ मत ल्याएर जित हासिल गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए । बज्राचार्य गठबन्धनबाट उपमेयर पदमा उम्मेदवार थिए ।
राप्रपाकी स्वर्णिमा शाक्यले ७ हजार ७७८ र स्वतन्त्र उम्मेदवार अजरमान जोशीले ७ हजार २९ मत पाए । जोशी कांग्रेसबाट असन्तुष्ट बनेर उम्मेदवार बनेका थिए । उमेदवार नै नभएको रुख चिह्नको उपमेयरमा नौ हजार ६२१ मत खसेको थियो ।