लण्डन । चिसो बढेसँगै बेलायतमा स्वास्थ्य सेवामा संकट सुरु भएको छ । नेसनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्यान्डले अहिलेकै अवस्थामा बिरामीको चाप थेग्न अस्पताललाई कठिन भइरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारसम्म कम्तीमा ६ अस्पताल ट्रस्टले संकटको अवस्था सामना गर्नुपरेको बीबीसीको समाचारमा उल्लेख छ । संकटको अर्थ उनीहरू पूर्ववत् अवस्थामा बिरामीको उपचार गर्ने सामर्थ्यमा छैनन् ।
केही अस्पतालका ए एन्ड ई (एक्सिडेन्ट तथा इमर्जेन्सी) विभाग संकटग्रस्त अवस्थामा पुगेको रोयल कलेज अफ इमर्जेन्सी मेडिसिनले जनाएको छ । रोयल कलेज अफ इमर्जेन्सी मेडिसिन का अध्यक्ष डा. एड्रियन बोयलले समयमै आपत्कालीन उपचार नहुँदा सातामा तीन सयदेखि पाँच सय बिरामीको मृत्यु भइरहेको बताएका छन् । गुणस्तर निगरानी गर्ने आरसीईएमले यूकेको ‘ए एन्ड ई’ विभागले हालसम्मकै खराब अवस्था र बिरामीले सबैभन्दा बढी समय कुर्नुपरेको उल्लेख गरेको छ । ६ सातायता ए एन्ड ई आउने विरामीको संख्या १८ प्रतिशतले वृद्धि भएको छ ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले ब्रिटेनमा गत महिनाको तुलनामा यस महिना फ्लूका कारण अस्पताल भर्ना हुने बिरामीहरूको संख्या सात गुणा बढेको जनाएको छ । पछिल्लो तथ्यांकका अनुसार गतसाता अस्पतालहरूमा फ्लुबाट पीडित ३ हजार ७ सय ४६ जना बिरामी भर्ना भएका थिए । तीमध्ये २ सय ६७ जनाको स्थिति गम्भीर रहेको जनाइएको छ ।
एक महिनाअघि फ्लुका कारण भर्ना हुने बिरामीको संख्या ५ सय २० मात्रै थियो । पछिल्लो एक सातामा फ्लुका कारण भर्ना हुने बिरामीको संख्या ८० प्रतिशतले वृद्धि भएको एनएचएसले जनाएको छ । यसैगरी, अस्पतालहरूमा उपलब्ध प्रत्येक १० मध्ये ९ ओटा बेड भरिएका जनाइएको छ । फ्लुका कारण एनएचएसका हजारौं कर्मचारीले आकस्मिक बिदा लिएका छन् ।