बेइजिङ । अन्ततः चीनले कोरोनाविरुद्ध जीत हाँसिल गरेको छ । नयाँ बिरामी नगन्य मात्र आउन थालेको र मृत्युदर समेत करीव शून्यमा झर्न थालेसँगै चीनले कोरोनाको उच्चतम त्रासबाट चीन मुक्त भएको घोषणा गरेको हो ।
बिहीबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बेइजिङमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
उनले चीनमा कोरोना भाइरसले संक्रमणको उच्च विन्दु पार गरेर घट्ने क्रम शुरु भएको जानकारी गराए । उनका अनुसार चीनमा अब नयाँ संक्रमित बिरामी घटेका छन् ।
कोरोनाको जोखिमसमेत चीनमा निकै कम भएको छ । कोरोना भाइरसको उदगम थलो हुबेई प्रान्तको वुहान सहरमा बुधबार आठ जनामा मात्र नयाँ संक्रमण देखिएको छ ।
हुबेई प्रान्तबाहिर सात जनामा कोरोना भेटिएको थियो। उनीहरू मध्ये पनि ६ जना विदेशी हुन् । एक करोड १० लाख मानिसको बसोबास भएको वुहान सहर जनवरी २३ देखि सरकारले ‘लक डाउन’ गरेको हो ।
नयाँ बिरामी आउन कम भएपछि चीनले अस्थायी रुपमा बनाएका अस्पताल बन्द गरेको छ । तर, महामारी पूर्णरुपमा निर्मुल भने नभएका कारण सचेत रहन भने नागरिकलाई आह्वान गरेका छन् ।
डिसेम्बर अन्तिम सातादेखि देखिन थालेको कोरोना भाइरसले चीनमा अहिलेसम्म ८० हजार ७ सय ९३ जना संक्रमित भएका छन् ।
उनीहरुमध्ये ३ हजार १ सय ६९ जनाको ज्यान गयो । ६२ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किसकेका छन् । अन्यको उपचार जारी रहेको छ ।
चीनले महामारीबाट मुक्त भएको घोषणा गर्नु एक दिन अगाडी भने विश्व स्वास्थ्य संगठनले विश्वभर महामारीको घोषणा गरेको थियो ।