काठमाडौं । नेपालले चीनबाट थप तीन लाख डोज कोरोना भाइरस विरुद्धको खोप पाउने भएको छ । शुरुमा ३ लाख दिने भनेको चीनले त्यसलाई बढाएर ५ लाख पुर्याएको थियो । यो मात्र पनि बढाएर ८ लाख पुर्याएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् ।
सोमबार साँझ एक ट्वीट गर्दै उनले यस्तो जानकारी गराएकी हुन् । चिनियाँ खोप नेपालमा आपतकालीन प्रयोगका लागि अनुमित प्राप्त भइसकेको छ । यद्दपी चीनबाट खोप भने आइसकेको छैन । अहिले नेपालमा भारतले अनुदानमा दिएको १० लाख डोजको वितरण भइरहेको छ ।
आगामी २३ फागुनबाट भने नेपालले भारतबाट किनेको खोप वितरण गर्दैछ । भारतबाट सरकारले २० लाख डोज खोप किनेको छ । संसारका धेरै मुलुकमा खोप नपुगेको भएपनि नेपालमा भने दुई विशाल मुलुकको अनुदान र खरीद उपलब्धताले सहज भएको छ ।