चीनबाट फर्काइने नेपालीलाई राख्ने क्वारेन्टाइन तयार

काठमाडौं । सरकारले शनिबार चीनबाट झण्डै २ सय विद्यार्थीलाई नेपाल फर्काउँदैछ । उनीहरुलाई नेपाल ल्याएपछि घर परिवारसँग भेट गर्न भने दिइने छैन ।

नेपाल एयरलाइन्सको विशेष विमानबाट नेपाल आउने उनीहरुलाई त्यहाबाट एम्बुलेन्समा राखेर सिधै खरीपाटीस्थित क्वारेन्टाइनमा लगिने भएको छ ।

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायसँग समन्वय गर्ने बताएको छ ।

नेपाल फर्किएका नेपालीलाई उच्च शतर्कतामा साथ चिकित्सकको निगरानीमा राखिने भ्एको छ ।

चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीलाई स्वदेश फर्काउन लागिएको छ ।

उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा राखिदैछ ।

स्वास्थ्य मन्त्रालयले यहाँ उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण गरेको हो ।

उनीहरुबाट अरु मानिसलाई संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट्र, शहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले उनीहरुलाई ल्याउने सन्दर्भमा समन्वय गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय प्रावधान अनुसार संक्रमण फैलिएको स्थानबाट आइसकेपछि निश्चित समय क्वारेन्टाइनमा राख्नुपर्छ ।

कोरोना प्रभावितबाट आएका मानिस कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।

नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेजलगायतलाई भने नगरकोटको खानेपानी तालीम केन्द्रमा राखिने भएको छ । उनीहरुसमेत क्वारेन्टाइनमै बस्नुपर्छ ।