काठमाडौं । चीनले दुई सन्तानको कडा नीति हटाएको छ । जनसंख्या सन्तुलनको अवधारणा अनुसार अब चीनले एक दम्पत्तिलाई तीन जना सम्म सन्तान जन्माउन दिने निर्णय गरेको हो । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले कडा नियममार्फत जनसंख्या वृद्धिदर रोक्ने गरेको छ ।
सिन्ह्वाले जनाए अनुसार सोमवार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिन्पिङले सो नीतिलाई स्वीकृत गरेका हुन् । सो निर्णय १० वर्षको फरकमा गरिने हालैको जनगणनामा चीनको जनसङ्ख्या वृद्धिदर केही दशकमै सबैभन्दा कम भएको पाइएपछि गरिएको हो।
जनगणनाको नतिजाले चीन सरकारलाई जनसङ्ख्या घट्नबाट जोगाउन दम्पतीहरूलाई बढी बच्चा जन्माउन प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउन दबाब दिएको बीबीसीले जनाएको छ । यो महिनाको सुरुमा सार्वजनिक गरिएको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो।

यो सङ्ख्या सन् २०१६ को एक करोड ८० लाखभन्दा कम हो । सन् १९६० को दशकयता सबैभन्दा कम हो। सो नतिजा सार्वजनिक भएपछि चीनले परिवार नीति नियमलाई सहज बनाउने अपेक्षा गरिएको थियो। चीनमा सन् १९८० देखि सन् २०१५ सम्म एक जोडीले एक जना बच्चामात्रै जन्माउन पाउने नीति थियो ।
यो महिनाको सुरुमा सार्वजनिक गरिएको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो।
सन् २०१६ को सुरुदेखि दुई बच्चासम्म जन्माउन पाउने नियम आएको हो । नयाँ बच्चाको जन्म नहुँदा बढी उमेरका मानिसको जनसंख्या अधिक हुने र युवा पुस्ता कम हुँदा सन्तुलन मै असर पुग्ने चिन्ता चिनियाँ अधिकारीहरुको छ ।