काठमाडौं\ एजेन्सी । चीनमा अल्ट्राम्याराथन प्रतियोगितामा भाग लिइरहेका २१ जना धावकको एकै पटक मृत्यु भएको छ । बीबीसीका अनुसार चीनको पश्चिमी भेगमा पर्ने एक पहाडी भेगमा अचानक मौसम बिग्रिएपछि क्रसकन्ट्री अल्ट्राम्याराथन प्रतियोगितामा भाग लिएका कम्तिमा २१ धावकको ज्यान गएको हो ।
सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिनेगरी वर्षा भएको थियो।
सय किलोमिटर दूरी भएको दौडमा १७२ धावक सहभागी थिए। तीमध्ये केही धावक हराएपछि प्रतियोगिता रोकिएको थियो।
खोजी तथा उद्धारका लागि परिचालित टोलीहरूले आइतवार २१ वटा शव फेला पारेको बीबीसीले लेखेको छ । अलपत्र परेका धेरै धावक जाडोमा कठ्याङ्ग्रिएर ज्यान गुमाएको बताइएको छ ।
राति पहाडी क्षेत्रमा तापक्रम घटेको हुँदा खोजी कार्य कठिन भएको चीनको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ । उद्धारमा १,२०० जनाभन्दा बढी मानिस परिचालित भएका छन् । सहभागी धावकमध्ये १५१ जना जीवित फेला परेका छन् । मौसम बिग्रिएपछि धेरै धावकले बाटो बिराएको बताइएको छ।