चीन भ्रमणमा पुगे रुसी राष्ट्रपति

GETTY IMAGES\BBC

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिन्पिङसँगको भेटवार्ताका लागि बेइजिङ पुगेका छन्। पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिन पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा बिहीवार बिहान बेइजिङ पुगेका हुन्। रुस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ औँ वार्षिकोत्सव पारेर दुई नेताबीच बिहीवार भेट हुने छ। सात महिनाको अवधिमा क्रेम्लिन प्रमुखको यो दोस्रो चीन भ्रमण हो। रुसले युक्रेनमाथि सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेपछि दुई नेताबीच तीन पटक भेट भइसकेको छ।

युक्रेन युद्ध सुरु भएपछि बेइजिङ मस्कोको महत्त्वपूर्ण साझेदार बनेको छ। चीन रुसमाथि अमेरिकासहित विभिन्न देशले लगाएको प्रतिबन्धको प्रभाव कम गराउन चाहन्छ। चीनले रुसलाई हतियार उपलब्ध गराएको आरोप बारम्बार अस्वीकार गर्दै आएको छ। ‘चीनले रुसलाई युक्रेनमा प्रयोग गर्ने गरी वास्तविक हतियार उपलब्ध गराउने काम चाहिँ गरेको छैन, गत महिना बेइजिङ भ्रमणका क्रममा बीबीसी न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले भनेका थिए।

तर चीनमाथि अत्यन्तै महत्वपूर्ण सामग्रीहरू उपलब्ध गराएर मस्कोको सैन्य सामर्थ्यलाई सुदृढ बनाउन सघाएको आरोप छ। पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएपछि चीन अहिले रुसका निम्ति कार, लत्ताकपडा र कच्चा पदार्थ पठाउने मुख्य निर्यातकर्ता बनेको छ। चीनले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कका अनुसार सन् २०२१ यता यी दुई देशबीचको व्यापार ६४ प्रतिशतले बढेर दुई खर्ब ४० अर्ब डलरको उच्च बिन्दुमा पुगेको छ।