काठमाडौं । निर्वाचनपछि पहिलो पटक सत्तारुढ गठबन्धनको संयुक्त समिक्षा बैठक बस्ने भएको छ । यस बैठकमा नयाँ सरकार गठनबारे समेत छलफल हुने भएको छ । चुनावी नतिजा अब अन्तिम चरणमा पुगेको छ । यससँगै दलहरु समिक्षामा जुटेका हुन् । बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, माओवादीले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक ठाउँमा जितेका छन् ।
चुनावी नतिजाबाट सत्तारुढ र प्रतिपक्षी नेकपा एमाले नै संतुष्ट भने छैन । दलहरुबीच अन्तर्घातको समेत आरोप–प्रत्यारोप चलिरहेको सन्दर्भमा आज संयुक्त बैठक बस्न लागेको हो । नयाँ सरकार गठनमा समेत सबै दलले आफ्नो दावी छाडेका छैनन् । दलहरु रणनीतिमा जुटेका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरुले यही गठबन्धनलाई निरन्तरता दिने विषयमा सहमत भएपनि पहिले कसको नेतृत्वमा सरकारमा जाने भन्ने विवाद कायमै छ ।