सुदिप राउत–रासस
सप्तरी, १२ चैतः सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतले करिब १० वर्षसम्म चुलोचौको, खेतीपाती र पारिवारिक जिम्मेवारीमै बित्यो । योबीचमा जिम्मेवारीले पढ्ने रहर ओझेलमा प¥यो, तर त्यो रहर अन्त्य भइसकेको थिएन । उनले फेरि अध्ययन सुरु गरिन् । २०६७ सालमा एसएलसी उत्तीर्ण गरिन् । राउतको औपचारिक अध्ययनको यात्रा त्यत्तिमा रोकिएन, घर नजिकै शिशुवारी क्याम्पस खुलेपछि उनले ‘प्लस टू’ मात्र होइन, गत वर्ष स्नातक (बिएड) समेत उत्तीर्ण गरिन् ।
“योबीचमा मैले विभिन्न गैरसरकारी सङ्घसंस्थामा काम गरेँ, यस क्रममा औपचारिक शिक्षाको महत्त्व बुझेँ । पढाइमा तल्लो तहमा हुँदा धेरै अवसरबाट वञ्चित भएको महसुस हुन्थ्यो । बाहिर गएर पढ्ने सम्भावना थिएन, तर घर नजिकै क्याम्पस खुलेपछि पढ्न सहज भयो”, राउतले खुसी व्यक्त गर्दै अगाडि भनिन्, “अब यही स्नातकोत्तर पनि सञ्चालन भएमा पढाइलाई अझ अगाडि बढाउने चाहना छ । चाँडै त्यो सपना गर्ने अपेक्षामा छु ।”
यस्तै, कथा डिकुरा पोखरेलको पनि छ । १५ वर्षअघि उदयपुरको गाईघाटस्थित त्रियुगा क्याम्पसबाट १२ कक्षाको अन्तिम परीक्षामा उनलाई एउटा विषय लाग्यो । त्यहीबीचमा विवाह भयो र पढाइ रोकियो । पछि सुरुङ्गास्थित घर नजिकै शिशुवारी क्याम्पस खुलेपछि पोखरेलले पुनः १२ कक्षा उत्तीर्ण गरी नेपाली विषयमा स्नातक गरिन् । हाल स्नातकोत्तर सकेर अध्यापन गराइरहेकी छिन् ।
सुमित्रा र डिकुरा त प्रतिनिधि पात्र मात्र हुन् । गाउँमै क्याम्पस स्थापना भएपछि उनीहरुजस्तै सयौँ छोरी–बुहारीले यहाँ आफ्ना अधुरा सपनालाई पूरा गर्ने अवसर पाएका छन् । सप्तरीको उत्तर–पश्चिमी सीमान्त गाउँ शिशुवारीमा अवस्थित यो क्याम्पस स्थानीयको पसिना र चन्दाबाट ठडिएको हो । विसं २०६९ साउन १५ गते त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको यस क्याम्पसले उच्च शिक्षाको ढोका खोलिदिएको छ । हाल यहाँका ३०० भन्दा बढी बुहारीहरू स्नातक उत्तीर्ण भई कोही निजामती सेवा त कोही शिक्षण पेसामा प्रवेश गरेर आफ्नो संसार आफैँ बदल्न सफल भएका छन् ।
क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाका अनुसार यहाँ सप्तरीका मात्र होइन, छिमेकी जिल्ला सिरहा, उदयपुर, खोटाङ, सुनसरी र मोरङसम्मका छात्राहरू लाभान्वित भइरहेका छन् । “यहाँको गाउँले वातावरण, न्यून शुल्क र सुरक्षित वातावरणले गर्दा बुहारीहरूका लागि यो क्याम्पस माइतीको घरजस्तै बनेको छ”, उनी भन्छन् ।
क्याम्पस प्रमुख तिम्सिनाका अनुसार आर्थिक रूपमा कमजोर परिवारका लागि वार्षिक रु १४ हजार मात्र शुल्क निर्धारण गरिएकाले यो क्याम्पस अन्य सामुदायिक क्याम्पसभन्दा करिब ३० प्रतिशत सस्तो र सहज पहुँचयोग्य बनेको छ । साथै, अतिविपन्न विद्यार्थीलाई निःशुल्क भर्ना गर्ने व्यवस्था पनि गरिएको छ । क्याम्पसको यो गुणस्तरीय र सुलभ शिक्षाले धेरैको जीवनमा व्यावसायिक परिवर्तन ल्याएको छ ।
उदयपुरको मुर्कुचीबाट विवाह गरी आएकी टुना माया मगरले यहीबाट स्नातक गरी शिक्षक सेवा आयोग उत्तीर्ण गरिन् । हाल उनी जनप्रभावत मावि दौलतपुरमा स्थायी शिक्षिका छन् । यस्तै, दुई वर्षअघि यही अध्ययन गर्नुभएकी मनिशा विकले पनि शिक्षक सेवा उत्तीर्ण गरेर राष्ट्रिय प्राविमा अध्यापन गराइरहेकी छिन् ।
यस्तै, कथा छ प्रेमा थापामगरको पनि । उहाँले शिशुवारी क्याम्पसमा प्लस टू अध्ययन गरे पनि त्यतिबेला क्याम्पसमा स्नातक तह सञ्चालन नभएकाले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसबाट स्नातक गरिन् । “त्यतिबेला यहाँ स्नातक तहको अध्ययन हुन्थेन, त्यसैले बाहिर बसेर पढ्नुप¥यो । हाल भने धेरै दिदीबहिनीहरूले गाउँमै पढ्न पाएका छन्, त्यो देख्दा खुसी लाग्छ,” उनले भनिन् । “हाल शिशुवारीमा स्नातक नगर्ने कुनै घर छैन, यो यस क्याम्पसको गौरव हो ।”
लहान माइती भएकी करिनाकुमारी महतोले गत वर्ष बिहे गरेर शिशुवारी आएपछि पनि अध्ययनलाई छोडिनन् । हाल कक्षा १२ मा अध्ययनरत उनलाई वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका श्रीमान् कृष्ण महतोले उत्तिकै हौसला दिइरहेकी छिन् । “खेतीपाती र पशुपालन गर्ने बुबाआमाले बाहिर राखेर पढाउन सक्ने अवस्था थिएन । हाल घरको काम भ्याएर पनि पढ्न पाएकी छु, घरपरिवार सबै खुसी हुनुहुन्छ”, महतोले भनिन् ।
शिशुवारी क्याम्पसले सुरुङ्गाका छोरी–बुहारीहरूका लागि केवल ‘डिग्री’ मात्र बाँडेको छैन, एउटा आत्मविश्वास र आत्मनिर्भरताको बाटो पनि कोरिदिएको छ । पारिवारिक उल्झन र आर्थिक अभावका कारण बीचैमा पढाइ छाडेर गृहिणीमा सीमित भएकाहरू हाल उच्च शिक्षा हासिल गर्ने सपना देखिरहेका छन् ।
मट्ठीदानबाट ठडिएको ‘ज्ञानको मन्दिर’
यो परिवर्तनको कथा त्यतिबेला सुरु भयो, जब गाउँमा ‘ज्ञानको मन्दिर’ ठड्याउन स्थानीयले मुट्ठीदान सुरु गरे । लहानका गणपतलाल सारडाले २१ कट्ठा जग्गा दान गरेपछि सुरु भएको यो अभियानमा स्थानीय नारायणप्रसाद पराजुलीले रु तीन लाख बराबरको जग्गा थपे । अन्य गाउँलेले गच्छेअनुसार रु १० हजारदेखि रु ५१ हजारसम्म नगद सहयोग गरे ।
क्याम्पसका लेखापाल ज्ञानेन्द्र धमलाका अनुसार १४ वर्षको अवधिमा स्थानीयबाट मात्र रु १७ लाखभन्दा बढी नगद सहयोग जुटेपछि विद्यालयको विकासमा सहयोग पुगेको हो । ‘स्थानीयको अपनत्व’ का कारण क्याम्पसले स्थानीयस्तरमा गुणस्तरीय शिक्षा दिन सहज भएको उनको भनाइ छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं सुरुङ्गा–१ का वडाध्यक्ष छत्रबहादुर राउत (राजकुमार) क्याम्पसले विभिन्न बाधा झेलेर पनि स्थानीयमा शिक्षाको ज्योति बाल्न योगदान गरिरहेको बताउँछन् ।
“मैले जिम्मेवारी लिँदा भवन जीर्ण थियो, शिक्षकहरूको तलब झन्डै दुई लाख बक्यौता थियो र जम्मा १० जना विद्यार्थी मात्र थिए”, उनी विगत कोट्याउँछन् । “तर हार नखाई चलाइएको घरदैलो अभियानले ५२ जना छोरी–बुहारीलाई क्याम्पस भर्ना गरायो । शिक्षकहरूले महिनौँसम्म तलब नपाउँदा पनि कक्षा रोकेनन्, जसको नतिजास्वरूप आज यो क्याम्पस कोशी प्रदेशमै बिएडतर्फको नतिजामा पहिलो हुन सफल भएको छ ।” राउतको यो तेस्रो कार्यकाल हो ।
यही क्याम्पसको स्नातक पहिलो ब्याचका विद्यार्थी एवं हाल सञ्चालक समिति सदस्य काशि कार्कीका अनुसार यहाँ पढेका कैयौँ विद्यार्थीहरू नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेर राष्ट्र सेवामा जुटिसकेका छन् । कुनै समय सामान्य लेखपढ मात्र भएको यो गाउँमा हाल प्रायः हरेक घरमा कम्तीमा एकजना स्नातक उत्तीर्ण छोरी वा बुहारी भेटिन्छन् । “यो अभियानको सबैभन्दा ठूलो सफलता हो । हाल तराई मधेस समृद्धि कार्यक्रममार्फत बनेको पक्की भवनमा कक्षा सञ्चालन भइरहेको छ भने भारतीय दूतावासको रु पाँच करोड लागतमा निर्माणाधीन तीनतले अत्याधुनिक भवन आगामी वैशाखमा उद्घाटन गर्ने तयारी छ । यी पूर्वाधार बनेमा थप सहज हुनेछ”, उनले भने ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिएड र प्लस टूतर्फ शिक्षा र व्यवस्थापन सङ्कायको अध्ययन अध्यापन भइरहेको यस क्याम्पसले विद्यार्थीलाई कम्प्युटरको आधारभूत सीप र शिक्षक सेवा आयोगको तयारी कक्षासमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । क्याम्पस प्रमुख तिम्सिनाका अनुसार हाल यहाँ प्लस टूतर्फ २०० र स्नातकतर्फ २२५ जना विद्यार्थी अध्ययनरत छन्, जसमा छोरी–बुहारीहरूको बाहुल्यता छ ।
स्थानीयको चन्दा र गाँस काटेर गरिएको सहयोगबाट सञ्चालित यस क्याम्पसले विपन्न परिवारका छोरी–बुहारीहरूका लागि वास्तवमै अँध्यारोमा एउटा उज्यालो दियोको काम गरिरहेको छ । चुलोचौकोको धुवाँबाट निस्किएर उच्च शिक्षासम्म पुग्ने यहाँका छोरी—बुहारीहरूको यात्राले शिशुवारीलाई केवल एउटा शैक्षिक संस्था मात्र होइन, सामाजिक परिवर्तनको एउटा बलियो केन्द्र बनाएको छ ।