चैत १५ बाट धारामा आउने भयो मेलम्चीको पानी

Photo : spotlightnepal

काठमाडौं । आमागी चैत १५ बाट काठमाडौं उपत्यका बासीको घरको धारामा पानी आउने भएको छ । तर, पहिलो चरणमा परीक्षणका रुपमा मात्र मेलम्चीको पानी वितरण हुने छ । मेलम्ची खानेपानी आयोजनाले पानी वितरणको तालीका नै बनाएर यस्तो जानकारी दिएको हो । चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थालिने आयोजनाले जनाएको छ ।

अहिले सुरुङबाट आएको मेलम्ची खोलाको पानी सुन्दरीजलमा झारेर त्यहाँबाट बागमती नदीमा पठाइएको छ । शुक्रबारदेखि बागमतीमा गइरहेको पानी समेत बन्द गरिने छ । त्यसपछि सुरुङ भरिने छ । सुरुङ भरिएपछि १० दिन नचलाई राखिने भएको छ । त्यसपछि त्यो पानी सुन्दरीजलमा बनाइएको पानी प्रशोधन केन्द्रमा पठाइने छ । पानी प्रशोधन केन्द्रमा परीक्षण पछि प्रशोधित पानी वितरण प्रणालीमा जाने भएको छ ।

आयोजनाका अनुसार पहिलो चरणमा चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने तयारी रहेको छ । नयाँ पाइपलाइनको परीक्षण नसकिन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुने भएको हो ।