काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलहरुमा ठूला क्लवले अत्यासित हार बेहोरेका छन् । म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेइन (पीएसजी) पराजित भए । यी दुबै क्लव एउटै समुहमा छन् ।
तर, तुलनात्मक रुपमा कमजोर टीमबाट ठूला क्लव हारेका हुन । यता, बार्सिलोनाले भने लगातार तेस्रो जित निकालेको छ । म्यान्चेस्टर टर्कीको इस्तानबुल बेसाकसेहिरसँग २–१ ले पराजित भयो । डेम्बा बाले खेलको १२ औं मिनेटमा गरेको गोलबाट अग्रता बनाएको इस्तानबुलका लागि इडिन भिस्काले ४० औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।
युनाइटेडका लागि ४३ औं मिनेटमा एन्थोनी मार्सलले गोल गरे । त्यसपछि भने कुनै गोल हुन सकेन । अर्को खेलमा पीएसजी आरबी लेइपजिगसँग २–१ ले नै पराजित भयो ।
एन्जेल डी मारियाले खेलेको छैटौं मिनेटमै गोल गरी पीएसजीलाई अग्रता दिलाएका थिए । पिइसजीले १५ औं मिनेटमा पेनाल्टी पाएको थियो । त्यसलाई डीमारियाले गोलमा परिणत गर्न भने सकेनन् ।
क्रिष्टोफर एनकुन्कुले खेलको ४१ औं मिनेटमा लेइपजिगका लागि बराबरी गोल गरे। दोस्रो हाफको ५७ औं मिनेटमा पेनाल्टीबाट लेइपजिगका इडिन फर्सवर्गले गोल गरे ।
यता, बार्सिलोनाले भने डाइनामो किभलाई २–१ ले पराजित गरेको छ। बार्सिलोनाका लागि कप्तान मेस्सीले खेलको पाँचौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । दोस्रो गोल ६५ औं मिनेटमा जेरार्डले गरेका थिए। किभका लागि ७५ औं मिनेटमा टीसिग्यानकोभले गोल गरे ।
प्रतियोगितामा आज नै सम्पन्न अन्य खेलमा चेल्सीले स्टेड रेनेसलाई ३–०, बोरुसिया डर्टमन्डले क्वब व्रगलाई ३–०, युभेन्टस्ले फेरेनभारोसलाई ४–१, सेभिल्लाले क्रास्नोडारलाई ३–२ ले पराजित गरेका छन् । जेनिट सेन्ट पिटर्सवर्ग र लाजियोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।