च्याम्पियन्स लिग : वार्यन म्याूनिख सिटीसँग हार्यो, दुई इटालियन क्लव सेमिफाइनलमा

Photo by AS English

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । उता, दुई इटालियन क्लव एसी मिलान र इन्टर मिलानले समेत सेमिफाइनलमा स्थान पक्का गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ को बराबरी खेले पनि समग्रमा ४–१ को जित निकाल्दै सिटी सेमिफाइनल पुगेको हो । पहिलो लेगमै सिटीले बायर्नलाई ३–० ले पराजित गरेको थियो ।

सिटीले अब फाइनल प्रवेशका लागि साविक विजेता स्पानिस क्लब रियल मड्रिडसँग खेल्नेछ । बायर्नको मैदानमा भएको खेलमा एर्लिङ हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसअघि ३७औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्न असफल भएका थिए । यस सिजन सबैखाले प्रतियोगितामा गरी हालान्डले ४८ गोल गरिसकेका छन् । बायर्नका लागि जोसुअ किमिचले ८३औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काए ।

उता, युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा सिरी ए प्रतिद्वन्द्वी दुई मिलान क्लब भिड्ने भएका छन् । इन्टर मिलानले क्वाटरफाइनलमा पोर्चुगिज क्लब वेनफिकालाई समग्रमा ५–३ ले पराजित गरेपछि सेमिफाइनलमा मिलान डर्बी हुने भएको हो । यसअघि एसी मिलानले नापोलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । इन्टरले दोस्रो लेगमा वेनफिकासँग ३–३ को बराबरी खेलेको थियो ।

तर अवे मैदानमा पहिलो लेगमा वेनफिकालाई २–० ले पराजित गरेको इन्टर समग्रमा ५–३ ले विजयी भएको हो । रोमाञ्चक खेलमा इन्टरले दुई पटक अग्रता लिएको थियो तर वेनफिकाले खेल बराबरी ग¥यो । निकोलो बरेलाले १४औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर फ्रेड्रेरिक असनसनेले ३८औं मिनेटमा वेनफिकाका लागि बराबरी गोल गरे ।

त्यसपछि लाउटारो मार्टिनजले ६५औं र जाओक्विन कोरेअले ७८औं मिनेटमा गोल गर्दा इन्टरले ३–१ को अग्रता बनायो । तर एन्टोनिओ शिल्भाले ८६औं र पिटर मुसाले इन्जुरी टाइममा गोल गरेपछि खेल ३–३ को बराबरीमा सकियो । अब सेमिफाइनलको पहिलो लेगका खेलहरु मे ९ र १० मा हुनेछन् भने दोस्रो लेगका खेल मे १६ र मे १७ मा हुनेछन् ।