काठमाडौं । स्पानिस क्लब बार्सिलोना लियोनल मेसीको अनुपस्थितिमा कमजोर बनेको छ । यसको असर यूईएफए च्याम्पियन लिग २०२१\२२ का खेलहरुमा स्पष्ट देखिन थालेको छ । लगातार दोस्रो खेलमा हार बेहोर्ने क्रममा क्लव बुधबार पोर्चुगिज क्लब नफिकासँग बार्सिलोना ३-० ले पराजित भयो । वेनफिकालाई घरेलु मैदानमा जित दिलाउन डार्विन नुनेजले दुई तथा राफा शिल्भाले एक गोल गरे । वेनफिकाले सन् १९६१ पछि पहिलो पटक बार्सिलोनालाई हराउन सक्यो । लगातार दुई खेल हारेको बार्सिलोना समूहको पुछारमा छ । पहिलो खेलमा बायर्न म्यूनिखसँग बार्सिलोना ३-० ले नै हारेको थियो ।
बुधबार राती नै भएका अन्य खेलमा भने ठूला क्लवहरु विजयी भएका छन् । इटालियन क्लब युभेन्ट्सले इंग्लिस क्लब चेल्सीलाई १-० ले पराजित गरेको छ । युभेन्ट्सका लागि फेडेरिको चिएसाले ४६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जेनित सेन्ट पिटर्सवर्गले माल्मोलाई ४-० ले हरायो । साल्जवर्गले लिललाई २-१ ले हरायो ।
सेभिया र वल्फ्सवर्गले १-१ को बराबरी खेले । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले भियारिया माथि २-१ को पुनरागमन जित निकाल्यो । यो खेलमा रोनाल्डोले च्याम्पियन्स लिगमा १७८औं खेल खेल्ने कीर्तिमान बनाए । उता, जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा डिनामो किभलाई ५-० को फराकिलो अन्तरले हरायो ।