काठमाडौं । सप्तरी र तनहुँमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते छन् । प्रहरीका अनुसार सप्तरी, कञ्चनरूप नगरपालिकामा–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नम्बरको ट्याक्टर दुर्घटनामा स्थानीय १८ वर्षीय रामआशिष रामको ज्यान गएको छ ।
दुर्घटना बिहीबार साँझ भएको हो । ट्याक्टरमा सवार स्थानीय १६ वर्षीय कृष्ण साह, ट्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते छन् ।
उनीहरुको सप्तरी, रूपनीस्थित युनिक अस्पतालमा उपचार जारी छ । यता, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा ग १ त ३७७० नम्बरको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको ज्यान गएको हो । दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–३ का लीलाबहादुर यादी घाइते रहेको प्रहरीले जनाएको छ ।