काठमाडौं । जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाई पाएका पूर्वसभामुख कृष्ण बहादुर महरा आजै जेलबाट मुक्त भएका छन् ।
उनी डिल्लीबजार कारागारबाट बिदाई भई निजी निवासतर्फ लागे ।
उनको रिहाईका बेला सयौं कार्यक्रता तथा समर्थक जेल बाहिर पुगेका थिए ।
जेलबाट बिदाईका क्रममा महराले संक्षिप्त प्रतिक्रिया दिँदै जेलमा रहँदा सबैबाट राम्रो व्यवहार भएको भन्दै खुसी व्यक्त गरे ।
सबैको सहयोग प्रति उनले धन्यवाद समेत दिएका थिए ।
सोमबार नै जिल्ला अदालतले बलात्कार मुद्दामा उनलाई निर्दोष सावित गर्दै सफाई दिएको थियो ।
अदालतले उजुरीकर्ता रोशनी शाहीको बयानका आधारमा उनलाई सफाई दिएको हो ।
रोशनीले महरा आफ्नो कोठामा नआएको र सोहीकारण बलात्कार हुने कुनै सम्भावना नै नरहेको बयान अदालतमा दिएकी थिइन् ।
उनले यसअघि नै उजुरी फिर्ता लिएपनि प्रहरीले अनुसन्धान भने रोकेको थिएन ।
जिल्ला अदालतले यसअघि महरालाई पूर्पक्षका लाथि थुनामा राख्न आदेश गरेको थियो ।
सोही अनुसार उनी डिल्लीबजार कारागारमा रहेका थिए । उनले अदालतबाट सफाई पाएसँगै सांसद पद यथावत रहेको छ ।
उनले पुनः सरकारी सेवा सुविधा पाउने छन् । तर, उनको सभामुख पद भने खारेज भइसकेको छ ।
आफूमाथि बलात्कार प्रयासको आरोप लागेसँगै उनले नैतिकताका आधारमा राजिनामा गरेका थिए । उनलाई अदालतले सफाई दिएलगत्तै सोमबार नै नेकपा अध्यक्ष प्रचण्डले फोन गरेर बधाई दिएका छन् ।