जनार्दन शर्माको निर्वाचन क्षेत्रमा भएन तालमेल, सबै दल एक्ला-एक्लै मैदानमा

काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धन भएपनि त्यो रुकुम पश्चिममा भने कार्यान्वयनमा आउन सकेन । दलहरुको अडानका कारण सबै दल एक्लाएक्लै भिठ्ने भएका छन् । यो नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक्लाएक्लै चुनावमा होमिएका छन्। उनीहरूले आइतबार प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दर्तासमेत गरिसकेका छन्।

रूकुम पश्चिममा प्रतिनिधि सभातर्फ एउटा मात्रै क्षेत्र छ। माओवादीबाट जनार्दन शर्मा प्रतिनिधि सभातर्फ उम्मेदवार छन् भने प्रदेश सभा (क)मा महेन्द्र केसी र (ख) मा राजकुमार शर्मा उम्मेदवार छन्। नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा केन्द्रीय सदस्य मानबहादुर नेपाली उम्मेदवार छन् भने प्रदेश सभा (क) मा कृष्णबहादुर रोकाय र (ख) मा प्रेमप्रकाश ओली उम्मेदवार छन्। रोकाय प्रदेश महामन्त्री हुन् भने ओली जिल्ला सभापति हुन्। नेकपा एमालेबाट प्रतिनिधि सभामा जिल्ला अध्यक्ष नन्दराम देवकोटा उम्मेदवार छन्। यस्तै प्रदेश सभा क्षेत्र (क)मा नारायणकुमार शाह र (ख) मा कर्णबहादुर घर्ती उम्मेदवार छन्।