जन्ती बोकेको जिप दुर्घटनामा कम्तिमा चारको मृत्यु

बैतडी । बैतडीमा आइतबार जन्ति बोकेको जिप दुर्घटनामा परि कम्तिमा चार जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै नेपालको सरकारी संचारमाध्यम गोरखापत्रले लेखे अनुसार मृतक मध्ये तीन जनाको सनाखत भइसकेको छ । दुर्घटनामा दशरथ चन्द नगरपालिका–६, का खेमसिंह कार्की, प्रेम चन्द, र तारा थापाको ज्यान गएको छ । दुर्घटनामा थप मानिस परेको हुन सक्ने बताइएको छ । खोजी कार्य जारी छ ।

दशरथचन्द नगरपालिका–६, का राजु चन्द र अर्क चन्द घाइते रहेको र उनीहरुको उपचार जारी रहेको समाचारमा उल्लेख छ । राती सवा ८ बजे भएको दुर्घटनाका कारण उद्धारमा कठिनाई भइरहेको बताइएको छ । दशरथचन्द नगरपालिका–४,कलुवाडको मोडमा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जिप दशरथचन्द नगरपालिका–२ देहिमाण्डौको थलाल गाउँबाट जन्ती बोकेर दशरथ चन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको थियो ।