काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरे भन्ने स्थानमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । प्रहरीका कअनुसार यस घटनामा तीन जनाको मृत्यु भएको छ । सोमवार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा काठमाडौं महानगरपालिका–१६ का कमलप्रसाद न्यौपाने, गोरखाको सिरानचोक गाउँपालिका चनौटेका देवी पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का कृष्णप्रसाद सिग्देलको मृतयु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ । गाडी रोकेर चालक बाहिर निस्केको समयमा गाडी गुडेको बताइएको छ । गाडी सडकबाट करिव दुई सय मिटर तल खसेको थियो । घटनाबारे प्रहरीले छानविन थालेको बताएको छ ।