बाँके । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि वैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । मानखोलाको जङ्गलमा पाँचजना र टहरामा लगेर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले हेमराज, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँटाभट्टा नजिक शङ्कास्पदरूपमा भे३प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरुषले मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटनाबारे खुलेको हो ।