काठमाडौं । गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण हुने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरिने भएको हो । दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ । स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुन् ।
गाउँपालिकाले उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक हुन् । गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताए । मङ्गलवार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको हो ।
केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आएका थिए । उनले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुआत गरेका थिए । पछिल्लो समय केसी यती एयरलाइन्समा आबद्ध थिए । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । यही माघ १ गते काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ । दुर्घटनामा परेकाहरूमध्ये एक जनाको शव प्राप्त भइसकेको छैन । खोजी कार्य आज पनि जारी रहेको नेपाली सेनाले जनाएको छ ।