न्यूयोर्क
मिनेसोटा राज्यको मिनियापोलिसमा एक अश्वेत युवा जर्ज फ्लोएडको प्रहरी कस्टडीमा मृत्यु भएपछि देशभर लगातार भएका प्रदर्शनले हिँसात्मक रुप लिएपछि अमेरिकाका कतिपय सहरहरुमा सुरक्षाका लागि कर्फ्यु घोषणा गरिएका छन् । कोरोना संक्रमणबाट १ लाख ३ हजार मानिसको मृत्यु भएर संक्रमण देशभर फैलिएको अवस्थामा राष्ट्रियरुपमा हिँसात्मक आन्दोलन भड्किए पछि ती ठुला सहरमा जनताको सुरक्षार्थ कर्फ्यु लगाइएको ती सहरका मेयरले जनाएका छन् ।
लसएन्जलस : लसएन्जलसस्थित मेयर एरिक गारसिटीले शनिबार बेलुका ८ बजेदेखि भोलिपल्ट बिहान साँढे ५ बजेसम्म लसएन्जलस सहरमा कर्फ्यु घोषणा गरेका छन् । लसएन्जलसमा शनिबार दिनभर जसो भएको प्रदर्शनमा सार्वजनिक बस तोडफोड गर्नेदेखि प्रहरीका केही गाडीहरुमा आगो लगाइएका थिए । लसएन्जलसमा आज शनिबार लगातार चौथौं दिन प्रदर्शन भएको हो ।
एट्लान्टा : एट्लान्टा सहरमा पनि शनिबार साँझ कर्फ्यु लगाइएको मेयर केश ल्यान्स बटम्सले घोषणा गरेका छन् । मेयर बटम्सले कार्यकारी आदेश मार्फत कर्फ्यु जारी गरेका हुन् । उनले एट्लान्टा शहरको सम्पूर्ण भागमा बेलुका ९ बजेदेखि भोलिपल्ट सुर्योदयसम्म कर्फ्यु लागू हुने बताएका छन् । शुक्रबार एटलान्टामा दिनभर जसो भएको प्रदर्शनमा प्रहरीलाई बोतलले हिर्काउने प्रहरीका गाडीमा आगो लगाउने सिएनएन मुख्यालयमा क्षति पुर्याइएको थियो ।
डेनभर : डेनभरमा लगातार दुई दिनदेखि प्रदर्शन भै रहेको छ । आज प्रदर्शनको दोश्रो दिन मेयर माईकल ह्यानककले शनिबार कर्फ्यु घोषणा गरेका छन् । उनले जनताको सुरक्षाको लागि कर्फ्यु लगाईएको बताएका हुन् । डेनभरमा शनिबार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म लागू भएको हो । मेयर ह्यानककले भोली आईतबार साँझको लागि पनि कर्फ्यु घोषणा गरिसकेका छन् । डेनभरमा भएको प्रदर्शनमा ३४ जनालाई नियन्त्रणमा लिइएको मेयर ह्यानककले बताएका छन् ।
फिलाडेल्फिया : फिलाडेल्फिया सहरमा पनि मेयर जिम केनिले शहरमा कर्फ्यु लगाएका छन् । त्यहाँ शनिबार बेलुका ८ बजेदेखि भोलिपल्ट ६ बजे बिहानसम्म कर्फ्यु लागू भएको हो । शनिबार त्यहाँ हजारौं प्रदर्शनकारी जम्मा भएर प्रदर्शन गरेका थिए भने प्रहरीको गाडीमा आगो लगाउनुको साथै एउटा स्टार बक्स स्टोरमा पनि आगो लगाईएको थियो ।
साथै सिनसिनाटी, मायामी, मिल्वाकी, पोर्ट्ल्याण्ड लगायतका सहरहरुमा पनि शनिबार कर्फ्यु घोषणा गरिएका छन् । मिनियापोलिसमा भने लगातार ३ दिनदेखि कर्फ्यु जारी नै छ ।