जलवायु परिवर्तनका मुद्दा विश्वमञ्चमा उठाउन ‘सगरमाथा संवाद’ आयोजनाको तयारी

अघिल्लो वर्ष सगरमाथा संवाद सचिवालयको उद्घाटन गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली

काठमाडौं । सरकार यो वर्ष पुनः सगरमाथा संवाद आयोजनाको तयारीमा जुटेको छ । यसअघि गत वर्ष भ्रमण वर्ष २०२० अगाडी नै सगरमाथा संवाद आयोजनाको तयारी थियो । तर, कोरोना महामारीले सो वर्ष कार्यक्रम आयोजना हुन सकेन । अघिल्लो वर्ष अप्रिल २ देखि ४ तारिखसम्म सम्मेलनको मिति तय भएको थियो ।

जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्व लिनु पर्छ भन्ने उदेश्यसहित सरकारले सगरमाथा संवाद आयोजना गर्न लागेको छ । जलवायु परिवर्तनमा कारक मुलुक नेपाल होइन । तर, विकसित मुलुले गर्ने गतिविधिबाट सबैभन्दा बढी प्रभावित मुलुक भने नेपाल हो । किनकी नेपाल हिमाल वाहुल्य भएको मुलुक हो ।

हिमाल नेपालको जनजिविकासँग जोडिएको छ । अहिले कोरोना भाइरसको संक्रमण कम भएको र खोप समेत सहजै उपलब्ध हुने अवस्था बनेको भन्दै परराष्ट्र मन्त्रालय सगरमाथा संवाद आयोजनामा जुटेको हो । आगामी नोभेम्बर १ देखि १२ तारीखसम्म कोप सम्मेलन हुँदैछ ।

त्यसअगाडी नै नेपालले सगरमाथा सम्मलेन गर्न चाहेको छ । यसबारे मन्त्रालयले कार्यक्रम आयोजना गर्न सम्भव भए नभएको बारे विज्ञबाट राय समेत लिएको छ । मन्त्रालयमा शुक्रबार भएको वैठकमा विज्ञ समूहलाई कोप सम्मेलन अगाडि संवाद आयोजना गर्न सकिने विषयमा अध्ययन गरी पाँच दिनभित्र राय पेस गर्न समय सिमा दिइएको छ । विज्ञ समूहको रायका आधारमा मन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव लैजाने छ ।