जसपा एकिकरण गैरकानूनी भन्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । फुटको अन्तिम तयारीमा रहेको जनता समाजवादी पार्टीको एकिकरण नै गैरकानूनि रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको थियो । तर, एकिकरण प्रक्रियाको प्रारम्भ नै त्रुटीपूर्ण, कपटपर्ण र संविधान तथा कानूनविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

राजपाका तत्कालीन उपाध्यक्ष राजपकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले रिट दायर गरेका छन । उनले जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेशको माग गरेका छन् । जनता समाजवादी पार्टी भने अहिले विभाजनको अन्तिम चरणमा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दै एक समुह सरकारमा गएको थियो । तर, सर्वोच्चले मन्त्रिपरिषद् बिस्तारलाई गैरकानूनि भनेपछि उनीहरु सरकारबाट बाहिरिन बाध्य भए । तर, शुरुबाटै सरकारमा जान नहुने अडानमा रहेको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका नेता भने विपक्षी गठबन्धनमा छन् ।