जहाज दुर्घटनाका कारण इयूको कालोसूची अझै लम्बिने, नआउने भयो मूल्यांकन टोली

काठमाडौं । नेपालमाथि यूरोपेली यूनियनको कालोसूची अझै लम्बिने भएको छ । उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्यांकन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली युनियनले तत्कालका लागि नेपाल भ्रमण रोकेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै ईयूको अनसाइट मूल्यांकन तत्कालका रोकिएको जनाएका छन् ।

१ माघमा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनापछिइयूले यस्तो निर्णय लिएको जनाएको छ । नेपालको उड्डयन सुरक्षाबारे ईयूले गत अक्टोबरमा एक टोली नेपाल पठाएर अध्ययन गरेको थियो । सो टोलीले उडान सुरक्षामा उल्लेख्य प्रगति भएको निष्कर्ष निकाल्दै अर्को टोलीलाई साइटमै खटाएर अध्ययन गराउने निर्णय गरेको थियो ।

सोही अनुसार टोली पठाउने तयारी गरेको थियो । प्राधिकरणका अनुसार फेब्रुअरी वा मार्चमा यो टोली नेपाल आउने तयारी थियो । प्राधिकरण र ईयूको संयुक्त विज्ञप्तिमा उड्डयन सुरक्षाका लागि ईयूले नेपाललाई निरन्तर सहयोग जारी राख्ने उल्लेख गरेको छ । नेपाल सन् २०१३ यता युरोपेली युनियनको कालोसूचीमा छ ।