काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि उनको उम्मेदवारी कहाँ हुन्छ भन्ने बारे अनेक अड्कलबाजी गरिएको थियो । जापानमा नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने जानकारी उनले गराए ।
‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु’ उनले भने, ‘बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला ।’ देशको केन्द्रविन्दुमा रहेको र विकासको तीब्र गतिमा जाने सम्भवना भएकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको प्रचण्डले बताए । उनका अनुसार रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटमा समेत चुनाव लड्न प्रस्ताव भने आएको उनले बताए ।
उनले आफू प्रधानमन्त्री बन्ने दौडमा भने नरहेको समेत बताए । राजनीतिक स्थिरता र विकासको वातावरण बनाउन आफ्नो भूमिका भए पुग्ने उनले बताए । ‘प्रधानमन्त्री बन्ने अफर मलाई धेरै आयो २०७४ पछि आयो, म प्रधानमन्त्रीको रेसमा छैन भनेँ मैले’ उनले भने, ‘अहिले पनि छ, तर म प्रधानमन्त्रीको रेसमा छैन ।’