जिम्बावे र नेदरल्याण्ड्स टी-२० विश्वकपमा छानिए

काठमाडौं । जिम्बावे र नेदरल्यान्ड्सले यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएका छन् । अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने ट्वान्टी–२० विश्वकप अस्ट्रेलियाको विभिन्न सहरमा हुनेछ । बुलावायोमा शुक्रबार भएको सेमिफाइनल खेलमा जिम्बावेले पपुवा न्युगिनीलाई २७ रनले हरायो । पहिलो ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९९ रन बनायो । जवाफमा आएको पपुवा न्युगिनीले ८ विकेट गुमाई १ सय ७२ रनमात्र बनाउन सक्यो ।

अर्को सेमिफाइनलमा नेदरल्यान्ड्सले अमेरिकालाई ७ विकेटले पराजित गर्‍यो । अमेरिका १९।४ ओभरमा १ सय ३८ रनमा अलआउट भएपछि नेदरल्यान्ड्सले एक ओभरअघि नै लक्ष्य पूरा गर्‍यो । फेब्रुअरीमा ओमानमा यसअघि नै भएको छनोटबाट आयरल्यान्ड र यूएई विश्वकपमा पुगिसकेका छन् । यी टोलीले अस्ट्रेलियामा पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।