जीप दुर्घटनामा ओखलढुंगामा ३ जनाको मृत्यु

काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा जीप दुर्घटना भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलले जानकारी दिए ।

मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीया तारा गुरुङ रहेका छन् । आगलागीमा परी गम्भीर घाइते मायादेवीलाई लिएर काठमाडौँ जाँदै गरेको दुर्घटनामा परेको हो । खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जीप चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन् । उनी फरार रहेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण संकलनको कार्य भइरहेको उनले बताए ।