जुम्लामा १ डिग्रीमा झर्यो न्यूनतम तापक्रम, काठमाडौंमा कति ?

काठमाडौं । देशभर चिसो बढ्दा न्यूनतम तापक्रम समेत तल झर्ने क्रम जारी छ । पश्चिमी वायुको प्रभावले नेपालमा क्रमशः चिसो बढाइरहेको छ । जुम्लामा न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर नै केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न थालेको छ । शुक्रबार पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ ।

गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको समेत सम्भावना छ । जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस छ । जोमसोमको न्युनतम तापक्रम ३, जिरीको ७ दशमलव ९ र डडेल्धुराको न्युनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । काठमाडौंमा न्युनतम तापक्रम १२ दशमलव ३ डिग्री सेल्सियस छ ।