काठमाडौं । जेठ २५ देखि ८ असारसम्म निर्धारित जनगणना रोकिएको छ । कोरोना महामारीका कारण घरघर पुगेर जनगणना हुने अवस्था नभएसँगै सरकारले जनगणना रोक्ने निर्णय गरेको हो । जनगणना हरेक १० वर्षमा हुने गर्छ । कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम गर्नुपर्ने भएकाले तत्कालका लागि यो कार्यक्रम नै स्थगित गर्नु परेको केन्द्रिय तथ्याङक विभागले जनाएको छ ।
जनगणनाका सबै काम तत्कालका लागि रोक्ने निर्णय मन्त्रीपरिषद्बाट भएको हो । कोरोना संक्रमणको दर कम भएसँगै आगामी आर्थिक वर्षबाट भने पुनः जनगणनाको कामलाई गति दिइने भएको हो । विभागले बैसाख १५ गते देखि सुपरिवेक्षकहरुका लागि तालिम दिन शुरु गरेको थियो ।
कार्यतालिका अनुसार बैसाख २६ गते देखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो । गणकलाई तालिम दिएपछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना शुरु गर्ने कार्यतालिका थियो । विभागले जनगणनाका लागि करिव ८५ प्रतिशत काम सम्पन्न गरिसकेको उल्लेख गरेको छ ।