३० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति यो समूह असन्तुष्ट रहेको बताइएको छ । युवाहरुले मध्यराति बालुवाटारमा नाराबाजी गरेका छन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका थिए । जेन–जी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले यो समूहमा रहेका थिए । उनीहरुले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाए ।
सुदन गुरुङले ‘जनता पावरफुल हो, कसैले हामीलाई रोक्न सक्दैन, जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु,’ भन्ने अभिव्यक्ति समेत दिएका छन् । सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन् । कार्कीले आइतबार तीन मन्त्री नियुक्त गरेको बताइएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याल गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङ ऊर्जा मन्त्री नियुक्त भएको समाचार सार्वजनिक भएपछि यो समूह आक्रोसित बनेको हो ।