जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

शवयात्रामा ऊर्जामन्त्री घिसिङ काठमाडौँ, ३१ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, एवं सहरी विकासमन्त्री कुलमान घिसिङ मङ्गलबार आन्दोलनको क्रममा निधन भएका व्यक्तिहरूको शवयात्रामा सहभागी हुनुहुँदै । तस्बिर सौजन्यः उर्जामन्त्री घिसिङको सचिवालय÷रासस

३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्‍याएका थिए ।

आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो । सोही अनुसार, आज उनीहरूको सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ६ जनाको शव भने नेपाली सेनाले सम्बन्धित जिल्लामा लगेको छ ।