जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित

न्यूयोर्क

डेमोक्रेटिक प्रत्याशी जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । सिएनन, एनबिसी, फक्स न्यूज, न्यूयोर्क टाइम्स लगायत सबै प्रमुख मिडियाले शनिबार विहान बाइडेन निर्वाचित भएको घोषणा गरेका हुन् ।

यसअघि नै २५३ इलेक्टोरल मत पाइ सकेका बाइडेनले पेन्सिलभेनियाको २० इलेक्टोरल मत पाउँदै निर्वाचित भएका हुन् । बाइडेन एरिजोना, जर्जिया र नेभाडाको मत गणनामा पनि अघि छन् । यी तीन राज्य पनि जितेमा उनले ३०६ इलेक्टोरल मत पुर्याउनेछन् । सन् २०१६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले यति न इलेक्टोरल मत पाएका थिए ।

बाइडेन विजयसँगै ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित नहुने सिमित राष्ट्रपतिको सूचीमा सामेल भएका छन् । दोस्रो विश्व युद्ध पछि जेरार्ल्ड फोर्ड, जिम्मी कार्टर र जर्ज एचडब्लु बुसले दोस्रो कार्यकाल पाएका थिएनन् ।

७८ बर्षिय बाइडेनले सबैभन्दा बृद्ध निर्वाचित राष्ट्रपतिको रेकर्ड समेत बनाएका छन् । सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको उप राष्ट्रपति रहेका उनी त्यस अघि तीन दशक बढि डेलावयरबाट सिनेटर थिए । बाइडेनको विजयसँगै कमला ह्यारिस पहिलो महिला  उपराष्ट्रपति बन्ने भएकी छिन् । उनी भारतीय आमा एवं जमैकन पिताकी छोरी हुन् ।

ट्रम्पले चार बर्षसम्म कोरेको विभाजको रेखा आफुले मेट्ने बाइडेनको दावी छ । आफुलाई भोट हाल्ने र नहाल्ने सबै नागरिकलाई समान आँखाले हेर्दै अन्तर्राष्ट्रिय जगतमा अमेरिकाको गुमेको छवी फिर्ता ल्याउने उनले बताउँदै आएका छन् ।

बाइडेनल निर्वाचित भइ सकेपनि ट्रम्पले पराजय स्वीकार्न मानेका छैनन् । निर्वाचनमा धाँदली भएको र अदालत गएर आफुले चुनावी नतिजा उल्टाउने उनको दावी छ । तर, कहाँ कस्तो धाँदली भयो भन्ने प्रमाण उनी र उनको क्याम्पेनले सार्वजनिक गर्न सकेको छैन ।

बाइडेनले चार बर्ष अघि ट्रम्प अप्रत्याशीत खोसेका मध्य पश्चिम क्षेत्रका तीन राज्य पेन्सिलभेनिया, मिसिगन र विसकनसन डेमोक्रेटिक खातामा फिर्ता ल्याउन सफल भएका छन् । डेमोक्र्याटहरुको बलियो बर्चश्व रहेका यी राज्यबाट ४६ इलेक्टोरल मत पाउँदै सन् २०१६ मा ट्रम्प विजयी भएका थिए । त्यसबाहेक बाइडेनले अग्रता लिएका जर्जिया र एरिजोनामा विजय हासिल गरे दशकौँ पछि ती राज्य जित्ने उनी पहिलो डेमोक्रेटिक उम्मेद्वार हुनेछन् ।