झारफुकमा विश्वास गर्दा काठमाडौंमै १४ वर्षिय बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंमा झारफुकमा विश्वास गरि कथित ‘माता’को आश्रममा राखेकी एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी(२ कि १४ वर्षीय बालिकाको शनिबार मृत्यु भएको हो । केही महिनादेखि बिरामी रहेकी बालिकालाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन १ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन् । तर, टाउको दुख्ने समस्या लिएर ‘माता’कहाँ पुर्‍याएकी बालिकाको स्वास्थ्यमा कुनै सुधार हुन सकेको थिएन । तर, पनि परिवारले अस्पताल लगेको थिएन ।

शनिबार बिहान एक्कासी बालिका गम्भीर बिरामी भएपछि मात्र मनमोहन अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बालिकाको मृत्यु भएपछि उनकी आमाले झारफुक गर्ने ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा उजुरी दिएकी छन् । त्यही आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेर अनुसन्धान थालेको समेत जनाएको छ । प्रहरीले यस प्रकारका अन्धविश्वासमा नलाग्न समेत सबैमा आह्वान गरेको छ ।