टर्की र सिरियाको सीमानामा पुनः ठूलो भूकम्प, क्षतिको विवरण आउँदै

काठमाडौं । टर्की र सिरियाको सीमा क्षेत्रमा पुनः ठूलो भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार त्यहाँ ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प गएको हो । टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार राती आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको ज्यान गएको पुष्टी भइसकेको छ । भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ । टर्की र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ ।

नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्की र सिरियामा गरी ४५ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ । टर्की सरकारले यो भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएको बताएको केही समय बित्न नपाउँदै फेरि अर्को भूकम्प गएको हो ।