काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले आयोजना गर्ने टी ट्वान्टी विश्वकप २०२१ मा प्रमुख प्रतिद्धन्द्धी भारत र पाकिस्तान समूह चरणमै भिड्ने भएका छन् । विश्वकपमा सहभागी हुने राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराइने भएको छ । आइसीसीद्धारा जारी सूचि अनुसार दक्षिण अफ्रिका, अष्ट्रेलिया, इंग्ल्याण्ड र दुई वटा छनोट खेलेर आउने राष्ट्र एक समूहमा हुनेछ । भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान अर्को समूहमा रहेका छन् ।
भारत र पाकिस्तान सन् २०१९ को एकदिबसीय अन्तर्राष्ट्रिय विश्वकपपछि पहिलो पटक एक अर्काको सामना गर्न मैदान उत्रिने छन् । दुबै समूहबाट दुई दुई वटा टोलि सेमीफाइनल पुग्ने छन् । विश्वकप यूएई र ओमानमा आयोजना हुनेछ । विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिता अक्टोबर १७ देखि १४ नोभेम्बरसम्म चल्ने तालिका छ । भारतले आयोजना गर्ने भनि तोकिएको यो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण गल्फ मुलुकमा सारिएको हो ।
आईसीसीका अनुसार टी ट्वान्टी वरीयताको आधारमा टोलिको समूह विभाजन गरिएको छ । आयरल्याण्ड, श्रीलङ्का, नेदरल्याण्ड्स र नामीबिया समेत समूह ए मा छन् । त्यसैगरी, स्कटल्याण्ड, बङ्गलादेश, पपुवान्यूगिनी र ओमान समूह बी मा छन् ।
तर दुबै समूहका यी चार चार राष्ट्रमध्ये दुबै समूहबाट उत्कृष्ट हुने दुई दुई टोलि सुपर १२ मा पुग्नेछन् । सुपर १२ मा यी चार राष्ट्रले वरीयताको शीर्ष आठमा रहेका दुई समूहका चार चार टोलिसँग स्पर्धा गर्ने भएका छन् । ओमान र यूएई भने आयोजक राष्ट्रको हैसियतमा विश्वकप टी ट्वान्टी खेल्न छनोट भएका छन् ।