काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको ठहर गरेको छ । बुधबार न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भन्दै जग्गाधनीको पक्षमा फैसला गरेको हो । काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु गरेको थियो ।
उसले जय नेपाल फिल्म हललगायत विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेको जग्गा खनेर टुकुचा खोलालाई सतहमा फर्काउन खोजेको थियो । त्यसपछि टुकुचा खोलामाथि घर तथा जग्गा भएका जग्गाधनी र संघसंस्था गरी २२ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए ।
रिट निवेदकको कानुन व्यवसायी रहेका अधिवक्ता अमृत सापकोटाका अनुसार अब काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्न पाउने छैन । सो निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतले टुकुचा उत्खनन नगर्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको थियो