मेलवर्न । टेनिसका विश्व चर्चित खेलाडी स्टार खेलाडी नोभाक जोकोभिचलाई अष्ट्रेलियाले आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएको विषयले सर्विया र अष्ट्रेलियामा बहस सिर्जना गरेको छ । अष्ट्रेलिया प्रवेश गर्न चाहिने आवश्यक मापदण्ड नपुगेको भन्दै अष्ट्रेलियाको अध्यागमनले उनको भिसा रद्द गरिदिएको खबर छ । उनी नौ पटकका अस्ट्रेलियन ओपन विजेता हुन् ।
जोकोभिच बुधबार राति मेलबर्न पुगेका थिए। मेलर्वन विमानस्थलमा उनलाई रोकियो । त्यहाँ उनलाई सुरक्षाकर्मीले भिसा रद्दको जानकारी गराए । अष्ट्रेलियन बोर्डर फोर्स एबिएफका अनुसार जोकोभिचले प्रवेश मापदण्ड पूरा गरेको प्रमाण पुगेन । उनले कोरोनाको खोप लगाएको प्रमाण समेत साथमा बोकेका थिएनन् । जसको वैद्य भिसा नभएको वा भिसा रद्द भएको अवस्थामा उनीहरूलाई हिरासतमा लिइने र फिर्ता पठाउने नियम रहेको एबिएफले उल्लेख गरेको छ ।
उता, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सर्बियाली खेलाडीले सङ्घीय सरकारलाई भिसाका मामलामा सन्तुष्ट पार्नुपर्ने प्रतिक्रिया दिएका छन् । उनले नियम भन्दा माथि कोही नरहेको भन्दै यसको पालना गर्न भनेका छन् । जोकोभिच अष्ट्रेलियन ओपन खेल्न बुधबार मेलवर्न विमानस्थल पुगेका थिए। सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियासमक्ष टेनिस च्याम्पियनलाई सहयोगको प्रस्ताव गरेको समेत खबर छ ।