टेलिभिजन प्याकेजको मूल्य २५०, सःशूल्क हेर्न कति लाग्छ ?

काठमाडौं । सरकारले टेलिभिजन च्यानलहरुको न्यूनतम् उपभोक्ता शुल्क मासिक प्रतिग्राहक २५० रुपैयाँ तोकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन सेवामा ‘आला कार्ट’ मूल्य प्रणाली लागु गर्दै यस्तो शुल्क तोकेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले तोकेको सीमाभित्र रहेरमात्रै प्रसारण संस्थाहरुले उपभोक्तासँग मासिक शुल्क लिन पाउने बनाएकी हुन् ।

यो नियम केबल, डीटीएच, एमएसओ, एमएमडीएस, आइपीटीभी, डीटीटीभीलगायत प्रसारण संस्थाको हकमा लागु हुने मन्त्रालयले जनाएको छ । इजाजत प्राप्त संस्थाले उपभोक्ताबाट मासिक न्यूनतम शुल्क २५० सम्पूर्ण नेपाली च्यानलहरु र निःशुल्क विदेशी च्यानलहरु उपलब्ध गराउनुपर्ने छ ।

सःशुल्क च्यानलहरु उपभोक्ताले थप मूल्य तिरेर लिन पाउनेछन् । यसबाट अब उपभोक्ताले आफ्नो रोजाइका च्यानल मात्र रकम तिरेर हेर्न पाउने सुविधा हुनेछ । आफूले हेर्न नचाहेका च्यानलका लागि उनीहरुले रकम तिर्नुपर्ने छैन । ग्राहकले अब न्यूनतम् मूल्यका अतिरिक्त एउटा मात्र विदेशी च्यानल हेर्छु भन्यो भने त्यसको मात्रै मूल्य तिरेर हेर्न पाउनेछ ।

यसबाट उपभोक्तामाथि लाद्ने गरिएको उच्च मूल्य नियन्त्रणमा आएको उनको मन्त्रालयका प्रवक्त नेत्र सुवेदीले बताए । सेवा प्रदायक संस्थाले अब मन्त्रालयबाट आफ्नो शुल्क स्वीकृत गराउनु पर्छ । त्यसपछि शुल्क कार्यान्वयनमा आउँछ ।

सरकारले गत १५ चैतमै आलाकार्ट शुल्क प्रणाली लागु गरी सम्झौताका लागि कम्पनीहरुलाई आह्वान गरेको थियो । तर, च्यानलहरुले तोकिएको समय १ साउनभित्र बुके प्राप्त नभएको भन्दै त्यो पालना गरेका थिएनन् । त्यसपछि सरकारले सःशुल्क विदेशी च्यानलको प्रसारण रोक्ने निर्णय लिएको थियो ।

मन्त्रालयका अनुसार स्टार इण्डिया प्रालिले वितरण गर्ने सम्पूर्ण सःशुल्क च्यानलको अधिकतम् मूल्य ६५ रुपैयाँ प्रतिमहिना प्रतिग्राहक तोकिएको छ । सोनी पिक्चर्स नेटवर्क इण्डियाले प्रसारण गर्ने सबै च्यानलहरुलाई समेत अधिकतम् सोही रकम तिरे पुग्ने भएको छ । इण्डियाकाष्ट मिडिया डिष्ट्रब्युसन प्रालिबाट प्रसारण हुने सबै च्यानलको मूल्य अधिकतम् मासिक प्रतिग्राहक २५ रुपैयाँ तोकिएको छ । जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिमिटेडका ग्राहकले अब सबै च्यानलको अधिकतम २५ रुपैयाँ तिर्दा पुग्ने भएको छ ।

बिननेट कोलम्यान एण्ड कम्पनीका ग्राहकले भने मासिक ३ रुपैयाँ मात्र तिर्दा समेत पुग्ने भएको छ । डिष्कभरी नेटवर्क एसिया प्यासिफिक प्रालिका च्यानललाई ग्राहकले प्रतिमहिना २० रुपैयाँ तिर्दा पुग्ने भएको छ । बीबीसीका च्यानलहरु भने प्रतिग्राहक २ रुपैयाँ तिरे पुग्ने छ । होम बक्स अफिस (सिंगापुर)प्रालिका च्यानललाई अधिकतम १५ रुपैयाँ तिर्दा पुग्ने निर्णय मन्त्रालयले गरेको छ । यी सबै च्यानलको मूल्य जोड्दा २२० रुपैयाँ हुन आउँछ ।