काठमाडौं । काठमाडौंको टोखामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गतराति भएको दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षका सविन कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।
कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति साढे ११ बजे ज्यान गएको हो । मोटरसाइकलको पछाडि बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका ४ कै २२ वर्षका सन्देश कार्की घाइते भएका छन् ।