ट्रम्पले लिएको आप्रवासन नियन्त्रण सम्बन्धी नयाँ नियमहरु के के छन् ?

काठमाडौं । नयाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओभल अफिसको आफ्नो कार्यालयबाट कार्यकारी आदेशहरू जारी गरेर आप्रवासनलाई नियन्त्रण गर्ने कदम चालेका छन्। ुजन्मका आधारमा नागरिकताको हकु को परिभाषा परिवर्तन गर्नेदेखि सीमाबाट हुने गैरकानुनी प्रवेशलाई रोक्न मेक्सिकोसँगको सीमामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने विषय त्यसमा समेटिएका छन्। तर जन्मिएकै आधारमा नागरिकता प्राप्त गर्ने अधिकारलाई बदल्ने उद्देश्य राखेकासहित उनका कतिपय आदेशले कानुनी कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ।

ट्रम्पले यसअघि बाइडन नेतृत्वको ह्वाइट हाउसको विध्वशंकारीु नीतिहरू पाँच मिनेटभित्रै खारेज गर्ने बताउँदै आएका थिए। नयाँ प्रशासनले सीबीपी वान नामक एप रद्द गरेपछि केही घण्टाअघि नै हजारौँ विदेशीहरूका आप्रवासनसम्बन्धी कामका लागि सरकारी भेटका लागि आरक्षित समयहरू रद्द भएका थिए। उक्त एप सीमा प्रवेश बिन्दुमा उपस्थितिको समय लिनका लागि प्रयोग गर्ने गरिन्थ्यो।

आफ्नो शपथग्रहणपछिको मन्तव्यमा ट्रम्पले अमेरिकामा हुने सबै गैर कानुनी प्रवेश रोकिने भन्दै दशौँ लाख अपराधी विदेशीलाई देशनिकाला गरिने बताए । सीमासम्बन्धी विस्तारित योजना अन्तर्गत ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पले अमेरिकी रक्षा मन्त्रालयलाई सीमालाई बन्द गर्न आदेश दिनेछन्।

कतिपय आदेशबारेका विस्तृत विवरणहरू आउनै बाँकी छ तर अधिकारीहरूले ट्रम्पले अमेरिकामा जन्म भएकै आधारमा अमेरिकी नागरिकता पाउने अधिकारलाई अन्त्य गरिदिने बताएका छन्। त्यसको अर्थ कागजातविहीन र सरकारी अभिलेखमा नरहेका आप्रवासीहरूका अमेरिकामा जन्मेका सन्तानहरू अब उप्रान्त स्वतः अमेरिकी नागरिक बन्न पाउने छैनन्।

तर त्यस्तो अधिकार अमेरिकी संविधानमा नै उल्लेख गरिएको छ र यसलाई परिवर्तन गर्न कंग्रेसका दुवै सदनमा दुई तिहाइ मतको आवश्यकता पर्छ। ती अधिकारीले ट्रम्पले यस्तो प्रावधान कसरी पालना गर्नेछन् भन्नेबारे थप बताएका छैनन्। नयाँ प्रशासनले तत्कालै ुसीबीपी वानु नामक एप खारेज गरेको छ जुन प्रवेश बिन्दुहरूमा अधिकारीहरूसँग औपचारिक भेटको लागि समय मिलाउन आप्रवासीहरूले प्रयोग गर्दै आएका थिए।