बुटवल । रुपन्देहीको तिलोत्तमा २ जानकी नगरमा रहेको कल सेन्टरका सञ्चालकसहित १५० जना युवा-युवती पक्राउ परेका छन् । प्रहरीले आइतबार ब्लु स्काई जनेस सोलुसन प्रालि नामक कल सेन्टरका नौ जना सञ्चालकलाई पक्राउ गरेको हो। सर्वसाधारणलाई ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालक पक्राउ गर्दै त्यहाँ कार्यरत १५० जना युवा युवतीलाई कार्यालयमै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी गराएका छन् ।
भारतीय र चिनियाँ नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइल, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको छ । अश्लील म्यासेज पठाउने, चिठ्ठा प¥यो भन्दै ठगी गर्ने कार्यमा संलग्न करिब १ सय ५० जनालाई कार्यालयभित्रै नियन्त्रणमा राखेको केसीको भनाइ छ।
अनुसन्धानका लागि प्रहरीले उक्त कार्यालय भएको भवनलाई नै शिल गरेको छ। तिलोत्तमा नगरपालिकाको वडा नम्बर २ जानकी नगरमा ४ तलाको घरमा तीन वटा फ्ल्याट भाडामा लिएर तीन सय जति कम्प्युटरसहित कार्यालय सञ्चालन हुँदै आएको थियो। पछिल्लो समय सर्वसाधारणलाई गलत सन्देश पठाएर तनाव दिने र ब्ल्याकमेलिङ गर्ने क्रम बढेपछि प्रहरीले आइतबार त्यहाँ छापा मारेको हो।