काठमाडौं । प्रहरीले ठमेलमा सञ्चालित अर्को कल सेन्टरमा छापा हानेको छ । यो कर सेन्टर चिनियाँ नागरिकले चलाएको खुलेको छ । यसअघि तिलोत्तमा र तिनकुनेमा सञ्चालित कल सेन्टरबाट समेत भारतीय र चिनियाँ नागरिक पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ज्याठामा भियना होटलसँगै रहेको भवनबाट चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले घरबाट २७ वटा ल्यापटप, ४७२ मोबाइल, एनसेल र स्मार्ट सेलको सीम कार्ड २०, २० वटा र एक लाख ९० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड पनि बरामद गरेको छ । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा ७ पुस २०७६ मा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि लिन चीनले चार्टर्ड जहाज नै पठाएको थियो । यो अपरेशनलाई नेपाल र विदेशी प्रहरीको सहकार्यमा भएको हालसम्मकै सबैभन्दा ठूलो संयुक्त कारबाही मानिने गरेको छ ।