काठमाडौं । काठमाडौंको ठमेलमा दुई प्रहरीमाथि कुटपिट गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दिनेश सिग्देल र रमेश फुलारा प्रहरीले पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरू दुवै जना नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुका नेता हुन्। यस घटनामा थप व्यक्ति फरार छन्। उनीहरूले बिहीबार मध्यराति क्युआरटी (क्विक रेस्पोन्स टिम)को रूपमा खटिएका दुई जनामाथि कुटपिट भएको हो।
प्रहरी वृत्त दरबारमार्गबाट प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्ट मोटरसाइकलमा खटिएका थिए। उनीहरू काठमाडौं महानगर २७ ज्याठास्थित छायाँ सेन्टर अगाडि राउण्ड अपका लागि पुगेका थिए। त्यतिबेला ६–७ जनाको समूह सडकमा अपशब्द बोल्दै हिँडिरहेका थिए। प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो। कुटपिट गर्नेहरू अस्कल क्याम्पस पढ्ने विद्यार्थीहरू रहेको खुलेको छ। प्रहरीले सिसिटिभीको माध्यमबाट खोजी गरिरहेको छ।
कुटपिटबाट प्रहरी हवल्दार घर्तीको टाउको र छातीमा चोट र दायाँ गाला सुन्निएको थियो। यस्तै जवान विष्टको दायाँ आँखामुनि सुन्निएको थियो। क्युआरटी मोटरसाइकलको हेल्मेट, बत्ती र लेगगार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी कर्मचारीलाई राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएको थियो।