ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको हो ।

कोरोना संक्रमणको जालो भत्काउन कम्तीमा पनि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई प्रस्ताव गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

अहिले कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै विद्यार्थी र शिक्षकहरु रहेको मन्त्रालयको विश्लेषण छ। जनस्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गरौं भन्ने विद्यालयका संचालकको आग्रहमा प्रवक्ता गौतमले जोखिमसँग खेल्न नहुने उनले बताए।

सोमबार मात्रै शिक्षा मन्त्रालयले आयोजना गरेको छलफलमा विद्यालय सञ्चालकहरुले बरु जनस्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्ने व्यवस्था मिलाइनुपर्ने तर विद्यालय बन्द गर्न नहुनेमा जोड दिएका थिए। त्यसपछि तत्कालै विद्यालय बन्द गर्ने मनस्थितिबाट शिक्षा मन्त्रालय पछि हटेको थियो।

तर स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमणको चेन ब्रेक गर्न विद्यालय बन्द गर्नुको विकल्प नरहेकोले एक महिना बन्द गर्नका लागि सरकारलाई सिफारिस गरेको हो।