डा. केसीद्धारा अनसन बस्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा चिकित्सा शिक्षा ऐनविपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेपछि डा. गोविन्द केसीले पुनः अनसनको चेतावनी दिएका छन् । चिकित्सा शिक्षा सुधारमा निरन्तर खटिएका डा. केसीले यस्तो चेतावनी दिएका हुन् ।

आज विज्ञप्ती निकाल्दै उनले चिकित्सा शिक्षा ऐनविपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया रोक्न समेत माग गरेका छन् । प्रधानमन्त्री र शिक्षामन्त्रीबाट पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा सम्बन्धन दिन खोजेको उनको आरोप छ । सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षाआयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास भएको समेत उनले बताएका छन् ।

यो कार्य अनैतिक र अवैध भएको समेत डा. केसीको भनाई छ । पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयू र बिपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोसिस भइरहेको भन्दै उनले त्यसको विरोध समेत गरेका छन् ।

डा. केसीले अवैध रुपमा अघि बढाइएको सम्बन्धनको प्रक्रिया तत्काल रोकिनुपर्ने, विश्वविद्यालयको उपकूलपति बनेर विश्व विद्यालयलाई नै अनियमितता र भ्रष्टाचारको अखडा बनाउने केयूका उपकुलपतिले तत्काल राजीनामा दिनुपर्ने माग दोहोर्याएका छन् ।