काठमाडौं । स्वास्थ्य अभियन्ता डा. गोविन्द केसी अहिले कोरोना भाइरसको संक्रमणसँग लडिरहेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार टुइटमार्फत निःशुल्क उपचार गर्ने बताएका थिए । प्रधानमन्त्रीले सामाजिक चर्चाका लागि गरेको उक्त टुइटको डा. केसीले प्रतिवाद गरेका छन् ।
आफ्नो उपचार आफै गर्न सक्ने नागरिकको व्यक्ति विशेषको उपचारको जिम्मा लिनु भन्दा आम नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन डा. केसीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । डा. केसीले आफ्नो स्वास्थ्य लाभको कामनाका लागि भने डा. केसीलाई धन्यवाद समेत दिएका थिए ।
‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा. केसीले भनेका छन्, ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’
उनले आफ्नो १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न समते अग्रह गरेका छन् । ‘पटकपटक भएको सम्झौता कार्यन्वयन भएको भए दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए र त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए’ उनले भनेका छन् ।