डा निकोलस भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह

काठमाडौँ, १७ पुस : राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत डा निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य कमजोर बन्दै गएकाले उनीहरुको जीवन रक्षा गर्न आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्नेलगायत माग राखी विगत १० दिनदेखि काठमाडौँको माइतिघरमा आमरण अनशनमा बसेका डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “निजहरुको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनसनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पु¥याउन र उनीहरूको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।” आयोगले यस सम्बन्धमा निरन्तर अनुगमन गरिरहेको तथा आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा डा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको, डा भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रासमेत घटेको पाइएको जनाएको छ ।