काठमाडौं । डेनमार्ककी महारानी मार्ग्रेटा द्वितीयाले अप्रत्याशित रूपमा राजगद्दी परित्याग गरेकी छिन् । नयाँ वर्षको शुभकामना सन्देश दिन टेलिभिजनमार्फत् सम्बोधन गर्ने क्रममा उनले आफू देशको शासनबाट हट्ने बताएकी हुन्। उनी जनवरी १४ मा राजगद्दीबाट हट्ने छिन्। त्यो दिन उनले राज्यारोहण गरेको ५२औँ वर्ष पुग्छ। “म राजगद्दी मेरा छोरा राजकुमार फ्रेडरिकलाई सुम्पिँदै छु,” उनले आफ्नो घोषणामा भनेकी छन्।
महारानी मार्ग्रेटा ८३ वर्षकी भइन्। अहिले विश्वमा राजगद्दीमा भएकी उनी एकमात्र महिला हुन् भने राजतन्त्र भएका युरोपेली देशमा लामो समयदेखि सत्तासीन व्यक्ति पनि हुन्। उनले आफ्ना बुबा फ्रेडेरिक नवमको मृत्यु भएपछि सन् १९७२ मा राज्यारोहण गरेकी थिइन्। सन् २०२३ को सुरुतिर ढाडको शल्यक्रिया गरेपछि केही समय सोचेको र राजगद्दी परित्याग गर्ने निर्णय गरेको बताइन्।
“शल्यक्रियाले स्वभाविक रूपमा भविष्यबारे सोच्न दियो-अर्को पुस्तालाई उत्तरदायित्व हस्तान्तरण गर्नुपर्ने समय त आइपुगेको हैन,” उनले भनिन्। मैले यो नै उपयुक्त समय भएको ठानेर निर्णय लिएकी छु,’ उनले डेन्मार्कका जनतालाई धन्यवाद दिँदै भनिन्।
प्रधानमन्त्री मेड फ्रेडरिक्सनले उनको सेवाका लागि महारानीलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्रीले एउटा वक्तव्यमा महारानीले आजीवन गरेको समर्पण र राज्यका लागि गरेका अथक प्रयासका लागि कृतज्ञता ज्ञापन गरेका छन्। “एक हजार वर्षभन्दा बढी समयदेखि राजप्रतिनिधि ृराजा वा रानीे को कर्तव्य र पद हस्तान्तरण हुँदै आएको भए पनि राजगद्दी हस्तान्तरणको समय आएको थाहा पाउन सहज छैन,” प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ।
ब्रिटिश वा अरू राजपरम्परामा जस्तो डेन्मार्कमा राज्यारोहणको औपचारिक समारोह हुँदैन। कोपन्हेगनस्थित अमेलिअन्बोर राजदरबारले उक्त दिन नयाँ शासकले राज्यारोहण गरेको घोषणा मात्र गर्छ। महारानी मार्गरेटाका उत्तराधिकारी उनका छोरा फ्रेडरिक हुन्। फ्रेडरिक डेन्मार्कका राजा तथा ग्रीनल्यान्ड र फेअरो आइलन्ड्सका राष्ट्रप्रमुख बन्ने छन्। डेन्मार्कमा संवैधानिक राजतन्त्र छ।