काठमाडौं । पश्चिम नोपलको अधिकांश भूभाग मंगलबार रातभर भूकम्पको त्रासमा रह्यो । डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टी भएको छ । ५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवनाथ गण डोटी लगायतको टोली खटिएको छ ।
स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् । राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए । भूकम्पबाट जोगिएकाहरुले चिसो रात खुला आकाशमुनि बिताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि पटक–पटक झट्का महसुस भएको थियो ।
भूकम्पको झट्का बझाङ, कैलाली, कञ्चनपुर, बाँके, रुकुम पश्चिममा समेत महसुस भएको थियो । भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिएका छन् ।
गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार एकै घरका ३ सहित ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।